बिद्यालय खुलाउने बिषयमा छलफल जारी
Friday, February 4, 2011 Posted by KhabarSite

राजेन्द्र न्यौपाने
माघ २१ गोरखा। जिल्ल्लाको गोरखा नगरपालिका स्थित महेन्द्रज्योति उच्च माध्यमिक विद्यालय बन्द भएको पाँच दिन भईसक्दा पनि विद्यालय खुल्ने सकेको छैन भने छलफल जारी रहेको छ । जिल्ला शिक्षा कार्यलय गोरखामा विहान भएको छलफलमा विद्यालयका प्राचार्य लक्ष्मणबाबु आचार्य र गणित विषयका शिक्षक भाईकाजी श्रेष्ठ अनुपस्थित भएपछि छलफल निर्णयमा पुग्न सकेन ।

विहान ११ बजे फेरी हुने छलफल पछि विद्यालय खुलाउने र विद्यार्थीको पठनपाठनको काम सुचारु गराउने तयारी भईरहेको जिल्ला शिक्षा अधिकारी योगराज भट्टराईले बताउनुभयो । विद्यालयमा पढाउन नजाने र ट्युसन सेन्टरमा मात्र पढाउने, लामो समय अनुपस्थित हुने र एकैपटक हाजिर गर्ने जस्ता विभिन्न कारणले गलत नजिर विद्यालयमा बसेको भन्दै विद्यार्थी र शिक्षकहरुले आन्दोलन गर्दै आएका थिए ।

सामूहिक राजीनामा दिएका १५ जना शिक्षकहरुले राजीनामा फिर्ता लिनुपर्ने र फिर्ता नलिए स्वीकृतिका लागि फाईल अगाडि बढाउने जिल्ला शिक्षा कार्यलय गोरखाले बताएको छ । राज्यको एक कर्मचारीले नियमको पालना गर्नुपर्छ भन्दै जिल्ला शिक्षा अधिकारीले एक पटक फिर्ता लिनुस भन्छु मानेन भने प्रक्रिया अगाडि बढाउँछु उहाँले भन्नुभयो । यसअघि पनि जिल्लामा आएका सामूहिक राजीनामा स्वीकृत हुँदै आएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ध्रवबाबु जोशीले विद्यालयको अवस्था सामान्य बन्दै गएको भएपनि शिक्षाविरोर्धीहरुका कारण समस्या परेको बताउनुभयो । गलत काममा लाग्ने कसैलाई पनि कारवाही हुनुपर्ने उहाँको भनाई थियो । शैक्षिक अवस्थाको सुधारका लागि गरिएको कामका विरुद्ध उत्रनु कहिँ नभएको जात्रा हाँडी गाउँमा भएको उहाँले बताउनुभयो ।

एक वर्षमा ५७ दिन र ६ महिनामा ५० दिन विद्यालयमा हाजिर नहुने शिक्षकलाई कारवाही गर्न किन नपाउने भन्दै उहाँले प्रतिप्रश्न गर्नुभयो । साथै विद्यालयमा भएको तोडफोडको सबै जिम्मा उनीहरुले नै लिनुपर्ने उहाँको भनाई थियो ।

विद्यालयले फागुन महिनामा स्वर्ण महोत्सव मनाउने तयारी गरिरहेको थियो ।

KhabarSite

Thanks for your visit..!

0 comments for "बिद्यालय खुलाउने बिषयमा छलफल जारी"

Leave a reply